काठमाडौँ । हिजोदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।
नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले सीआईएनलाई दिएको जानकारी अनुसार २१ जना वेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन् । विस्थापित हुनेहरुको सङ्ख्या भने १० हजार ३ सय ८५ पुगेकाे छ ।
बाढी,पहिरो र डुबानका कारण ललितपुर र ओखलढुंगामा पाँच–पाँच जना, काठमाडौं, खोटाङ, काभ्रेमा तीन–तीन जना, धादिङ, सिन्धुली भोजपुर र मकवानपुरमा दुइदुइ जना तथा पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक–एक जना गरी ३७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो ।
मकवानपुरमा चार जना, काभ्रेमा दुइ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एकएक जना गरी १२ जना घाइते भएका हुन् ।
बाढी पहिरोमा परेका काठमाडौंमा एक सय आठ जना, उदयपुरमा १० जना, ललितपुरमा आठ जना, सिन्धुलीमा दुइ जना, सिराहमा दुइ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा एक–एक जना गरी एक सय ३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
सरकारले बाढीपहिरो प्रभावितका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी प्रदेश सरकारसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरी स्थानीय सरकारबाटै राहत वितरण गर्ने व्यवस्था मिलाउँदै तत्काल उपलब्ध ड्राईफुड वितरण गर्न निर्देशन जारी गरेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल गरेपछि अहिले भारतीय सीमानाको बाँधका ढोका खोलिएकाले रौतहटको गौरमा पानीको सहत कम हुँदै गएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार २८, २०७६, २०:१९