पाल्पा । आइतबार साँझ पाल्पामा भएको स्कर्पियो जिप दुर्घटनामा ज्यान गुमाउनै सबै एकै परिवारका भएको खुलेको छ। मृत्यु हुनेमा श्रीमान, श्रीमती, बुहारी, नातीहरू र सम्धिनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उहाँकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल र नातीहरु ११ वर्षीय ईसव र अढाई वर्षीय सबिस रहेकाे प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । यस्तै सविनाकी आमा लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको छ ।
कृष्णबहादुर र पार्वतीका छोरा ईश्वरबहादुर लोहनी घाइते हुनुभएको छ । उहाँकाे तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। उहाँले चलाएकाे बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको जिप तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट १ सय मिटर तल खोलामा खसेको थियो।
पाल्पाको रानीमहल घुमेर सदरमुकाम तानसेन जाँदै गर्दा जिप दुर्घटना भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०, ०८:०८