काठमाडाैँ । आज विजया दशमी । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ । तर, विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । सकेसम्म साइतमा टीका लगाउने प्रयत्न गर्ने तर नसकेमा दिनैभरी टीका लगाउन सकिने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले सीआईएनसँग बताउनुभयो । टाढा जानुपर्ने भएमा वा अन्य विभिन्न कारणले नभ्याएमा आफ्नो अनुकुलमा दुर्गा विसर्जन र टीका जमरा ग्रहण गर्न सकिने उहाँले बताउनुभयो ।
टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गरिन्छ । अध्यक्ष अधिकारीका अनुसार दुर्गा बिसर्जन गर्नका लागि विहान १० बजेट ३७ मिनेटको साइत तोकिएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने समितिले जनाएको छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद ग्रहण गरी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद दिने र लिने गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०, ०६:५३