काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ ।
विजया दशमी २०८० को शुभकामना दिदैँ राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गर्नुभएको छ । उहाँले विजया दशमी, २०८० को शुभ अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु ।’ उहाँले अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याऊन् कामना गर्दै भन्नुभएको छ, ‘यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु ।’ यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको अवसरमा आजै सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम रहको छ ।
उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई तथा ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने छ । सर्वसाधरणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । टीका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत कार्यालयले आग्रह गरेको छ ।
राष्ट्रपति पौडेलले भने ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट टिकाको शुभसाइत विहान ११ वजेर २ मिनेट जादा टिका जमरा र आशिर्वाद लिने उहाँको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०, ०७:४८