काठमाडौँ । नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ। मंगलबार मलेसियामा भएको फाइनलमा युएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन भएको हो ।
२८ ओभरमा १९८ रनको लक्ष्य पछ्याएको यूएई २६ ओभर ५ बलमा १७८ रनमा अलआउट भयो ।
पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाए पछि २८१ रनको लक्ष्य पाएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएपछि युएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो ।
यूएईका लागि ध्रुव परेशारलले ५९ र अर्यांश शर्माले ३२ रन बनाउनुभयो । नेपालका आकाश त्रिपाठीले चार, सुवास भण्डारीले ३ तथा आकाश चन्द र हेमन्त धामीले एक एक विकेट लिनुभयो ।
बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको थियो ।
नेपालका कप्तान देव खनालले १०० रन बनाउनुभयो । उहाँले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्नुभयो । खनालले यू १९ टोलीबाट बनाएको यो तेस्रो शतक हो । यस्तै,ओपनर अर्जुन कुमालले ५५ र उत्तम थापामगरले ५७ रन बनाउनुभयो ।
युएईका लागि हरित शेठ्ठीले सर्वाधिक ५ विकेट लिनुयभो । प्रतियोगिताको उपाधि नजिते पनि यूएई पनि नेपालसँगै एसिया कपको लागि छनोट भएको छ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०, १८:१९