काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे भ्रम छरिरहेको बताउनुभएको छ । कम्बोडियाको टेलिकम कम्पनीमा केपी ओलीको लगानी रहेको भन्दै राजावादीहरूले भ्रम छरिरहेको महासचिव पोखरेलले बताउनुभएको हो ।
महासचिव पोखरेलले फेसबुकमा बुधबार सुशासन र विकासका लागि सबैभन्दा योग्य व्यक्ति ओली रहेको दाबी गर्दै विगतमा माओवादीहरूले ओलीबारे भ्रम छर्ने गरेको र अहिले राजाबादीले भ्रम छरिरहेको उल्लेख गर्नुभएको छ ।
पोखरेलले लेख्नुभएको छ– ‘पहिले माओवादीहरू जावलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे,अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ ।’
वैचारिक र राजनीतिक रूपमा अयोग्यहरुको हतियार नै भ्रम सिर्जना गर्नु रहेको भन्दै महासचिव पोखरेलले नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार भएको पनि बताउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०, १५:३०