काठमाडाैँ । फेसबुक, इन्टाग्राम, व्हाट्सएप र मेसेन्जरको माउ कम्पनी मेटालाई अमेरिकाका विभिन्न राज्यले मुद्दा दायर गरेका छन् ।
विभिन्न सुविधा प्रयोग गरेर बालबालिकालाई आकर्षित गरी कुलत लगाएको र आफ्ना सामाजिक सञ्जाल बालबालिकाका लागि सुरक्षित भएको झुटो दाबी गरेको जिकिर गर्दै ३३ वटा राज्यले मुद्दा दायर गरिएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोलोराडो, क्यालिफोर्नियालगायतका ३३ राज्यले क्यालिफोर्नियाको उत्तरीजिल्लाको लागि अमेरिकाको जिल्ला अदालतमा संयुक्त मुद्दा दायर गरेका हुन् । मेटाले उपभोक्ता संरक्षण कानूनको उल्लङ्घन गरी बालबालिकालाई गलत रूपमा फसाएर र प्रयोगकर्तालाई सुरक्षाको बारेमा धोका दिएको मुद्दामा दाबी गरिएको छ ।
यसअघि आठवटा राज्यहरूले मेटा विरुद्ध उस्तै दाबीका साथ छुट्टै मुद्दा दायर गरेको खबरमा उल्लेख छ । मुद्दामा मेटाका प्लेटफर्महरूले सुविधा र डिजाइन फेरेर युवा प्रयोगकर्तालाई ती प्लेटफर्म चलाउन बाध्य बनाउँदै कुलतमा फसाएको उल्लेख गरिएको छ। मुद्दामा कम्पनीका एल्गोरिदमहरू बालबालिका र किशोरकिशोरीलाई विषाक्त र हानिकारक सामग्रीको दुष्चक्रमा धकेल्न डिजाइन गरिएको पनि दाबी गरिएको छ ।
महान्यायाधिवक्ताहरूले मेटालाई संघीय बालबालिकाको अनलाइन गोपनीयता कानूनको उल्लङ्घन गरेको आरोप लगाउँदै आमाबुबाकाे अनुमति बिना बालबालिकाको व्यक्तिगत सूचना जानकारी र तथ्याङ्क गैरकानूनी रूपमा संकलन गरेको आरोप पनि लगाएका छन् ।
उनीहरुका अनुसार असीमित स्क्रोल र निरन्तर प्राप्त भइरहने अलर्टले युवा प्रयोगकर्ताहरूलाई आफूसँग जोडिरहन बाध्य बनाएको भन्दै राज्यहरूले २३३ पृष्ठ लामो मुद्दामा मेटाको उद्देश्य नाफा कमाउनु मात्र भएकाे पनि दाबी गरिएको छ । मेटा कम्पनीले भने किशोरकिशोरीलाई सुरक्षित वातावरण उपलब्ध गराउन काम गरिरहेको भन्दै मुद्दा दायर गरिएकोमा दुख ब्यक्त गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०, १६:२९