नेपाल फोटो लाइब्रेरी
इजरायल। गत असोज २१ गते प्यालेस्टाइनको इस्लामिक विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको इजरायल-हमास युद्धमा अहिलेसम्म हजाराैँ नागरिक मारिएका छन् ।
हमासले गरेको आक्रमणमा परी इजरायलमा १० जना नेपालीसहित १२०० भन्दा बढीले ज्यान गुमाएका छन् । इजरायलले गरेको जवाफी हमलामा गाजा सहरमा ५५०० भन्दा बढी मानिस मारिएका छन् । यो क्रम बढी रहेको छ । हजारौँ घाइते भएका छन् ।
हमासले एकसाथ सयौँ रकेट प्रहार गर्नुका साथै हमासका लडाकु इजरायलमा पसेर जमिनबाट पनि आक्रमण गरेका थिए। त्यसको केही दिनदेखि इजरायलले जवाफी कारबाही गरिरहेको छ । इजरायल र प्यालेस्टाइनबिच मुख्यगरी जेरुसेलम, सिमा, भूमि, यहुदी बसोबास र प्यालेस्टाइनी शरणार्थीको मुद्दामा विवाद रहेको छ।
इजरायलले संयुक्त राष्ट्रसंघबाट सदस्य राष्ट्रको मान्यता पाइसकेको भए तापनि प्यालेस्टाइनले अझै पूर्ण सदस्ययता पाएको छैन । संयुक्त राष्ट्रसङ्घ लगायतका विश्वका थुप्रै राष्ट्रले इजरायल र प्यालेस्टाइनलाई छुट्टाछुट्टै राज्यको रूपमा मान्यता दिन प्रयासरत रहेको भए पनि अहिलेको इजरायली सत्ताले यो स्वीकार्दैन। उसले पूरै भूमिलाई इजरायल बनाउन खोजिरहेको छ।
सो युद्धका कारण गाजा क्षेत्रका विभिन्न सहरहरूमा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठुलो सङ्कट देखिएको र लाखौँ मानिस गाजाबाट विस्थापित समेत भएका छन् । हमासले आक्रमण गरेको केही दिन पछि इजरायलको किबूत क्षेत्रमा पुग्दा युद्धको जिजीविषा देख्न सकिन्थ्यो ।
सडकमा कारहरू जलेर खरानी भएका छन् भने रकेट प्रहारबाट घरहरू भग्नावशेष बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०, ०९:५९