काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि मैदान कीर्तिपुरमा यूएईले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालले युएई र हङकङलाई दुई–दुई पटक पराजित गरेको थियो । यूएई र हङकङले एक एक खेल जिते पनि रन औसतका आधारमा यूएई फाइनल पुगेको हो ।
प्रतियोगिताकाे पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले र अर्को खेलमा ६ विकेटले हराएको थियो ।
यही कात्तिक १३ गते देखि काठमाडौंमै हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अघि यो प्रतियोगिता भएको हो ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र यूएईबीच अहिलेसम्म ७ खेल भएकोमा नेपालले ४ खेल जितेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०, १०:४२