काठमाडाैँ । त्रिकाेणात्मक क्रिकेटको उपाधि यूएईले जितेको छ । फाइनलमा घरेलु टाेली नेपाललाई ४ विकेटले हराउँदै यूएई च्याम्पियन बनेको हो ।
प्रतियोगिताको लिग चरणमा नेपालले यूएईलाई २ पटक हराएको थियाे । यूएईले त्यसको बदला लिँदै उपाधि जितेको हो । १६३ रनको लक्ष्य यूएईले खेल सकिन १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गरेको हो ।
यूएईका मोहम्मद वासिमले सर्वाधिक ४५ रन बनाउनुभयो । नेपालका गुल्सन झा र अभिनाश बोहोराले दुई दुई विकेट लिनुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५० रन बनाएपनि अरु ब्याटरले ठुलो योगदान गर्न नसक्दा नेपालले ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
नेपालका करण केसीले २३ रन बनाउनुभयो । यस्तै दीपेन्द्रसिंह एेरीले २० र रोहित पाैडेलले १८ रनको योगदान गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०, १४:४८