काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री साहित्य, पद्मश्री साहित्य साधना र पद्मश्री गौरव पुरस्कार अर्पण गरेको छ ।
काठमाडौँको वसुन्धरामा रहेको होटेल अकामामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री साहित्य पुरस्कार मनु उपन्यासका लागि डा. देवीप्रसाद सुवेदीलाई, पद्मश्री साधना पुरस्कार व्यङ्ग्य चित्रकार दुर्गा बराल वात्सायनलाई र पद्मश्री गौरव पुरस्कार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. सुरेशराज शर्मालाई अर्पण गर्नुभयो ।
तीन वटै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ रहेको छ ।
पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित मनु उपन्यासका सुवेदीले आफू कविता लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरे पनि आख्यानप्रतिको आकर्षणले मनु उपन्यास लेखेका बताउनुभयो। ऋग्वेद, श्रीमद्भागवत लगायत पुस्तकमा मानव सभ्यताकै देवताका रूपमा रहेका मनु उपेक्षित भएको महसुस गरी यो उपन्यास लेखेको उहाँको भनाइ थियो । आफ्नो अध्ययनले मनु स्वर्गका नभएर मानवका देवता भएकाले मनुलाई उपेक्षा गरिएको निष्कर्ष निकालेपछि त्यसलाई उपन्यासको मूल विषय बनाएको बताउनुभयो ।
पद्मश्री साधनाबाट सम्मानित कलाकार वात्सायनले आफूले वर्षौँदेखि समाजको चित्र समाजलाई नै देखाउने काम गरिरहेको बताउँदै यो सम्मानले नेपालको चित्रकला र विशेष गरी व्यङ्ग्य चित्रको क्षेत्रलाई नै सम्मानित गरेको महसुस भएको बताउनुभयो । पाँच दशकदेखि सत्ताको कुरूप अनुहार देखाइ रहे पनि सत्ताको निरकुश चरित्र नबदलिएकोमा उहाँले दुख व्यक्त गर्नुभयो ।
पद्मश्री गौरव पुरस्कारबाट सम्मानित शर्माले आफ्नो र परिवारको मात्र हित हुने कुराबाट माथि उठेर समाज र देशका लागि हित हुने काम गर्ने अठोट गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल नेपालीले नै बनाउन सम्भव रहेको भन्दै उहाँले यसका लागि अठोट र नेतृत्व आवश्यक पर्ने बताउनुभयो । काठमाडौँ विश्वविद्यालय स्थापना गर्दाको चुनौती सम्झँदै उहाँले स्रोत साधन सुनिश्चित नभए पनि गुणस्तरीय र प्राविधिक उच्च शिक्षालाई मुख्य जोड दिने गरी विश्वविद्यालय खोल्ने अठोट र साहस गरेको बताउनुभयो । यसले नेपालभित्र नेपालीले नै गर्न चाहँदा सम्भव हुने रहेछ भन्ने पुष्टि गरेको शर्माको भनाइ थियो ।
उहाँ काठमाडौँ विश्वविद्यालयको २१ वर्ष निरन्तर उपकुलपति हुनुभएको थियो ।
कार्यक्रममा विद्वत् प्रवचन गर्दै पूर्व राजदूत प्रा. जयराज आचार्यले नेपालको सामाजिक, सांस्कृतिक र साहित्यको अन्तरसम्बन्ध केलाउनुभएको थियो ।
समाजमा अध्ययन अनुसन्धान र वैज्ञानिक सोचको अभाव झन् बढ्दै गएका बेला यस्ता पुरस्कारले हौसला दिने आचार्यको भनाइ थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समाज र राष्ट्र विकास हुनको लागि साहित्य विकास हुनुपर्ने बताए । पठन र चिन्तन संस्कृति जोगाउन यस्ता पुरस्कारले योगदान गर्ने उहाँको भनाइ थियो ।
पुरस्कारका लागि १८० पुस्तकमध्येबाट प्रारम्भिक सूचिमा १५ र अन्तिम सूचिमा पाँच पुस्तक छानिएकोमा मनुलाई सर्वोत्कृष्ट चयन गरिएको उहाँले जानकारी दिनुभएको थियो ।
प्रतिष्ठानले हरेक वर्ष देश र समाजका लागि उल्लेखनीय काम गरेका व्यक्ती मध्ये एक जनालाई पद्म श्री गौरव र कलाको क्षेत्रमा दीर्घ साधना गरेका एक जनालाई पद्म श्री साधना पुरस्कार प्रदान गर्ने गरेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०, २१:०४