काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदलगायतका उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन् ।
आज दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग गुटेरेसले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसलगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गरेपटि महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको आयोजनामा आजै हुने रात्रिभोजमा पनि उहाँ सहभागी हुनुहुनेछ । हिजो प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया, विकास निर्माणका लागि पनि गुटेरसको भ्रमण महत्वपूर्ण हुने बताउनुभयो ।
भोलि महासचिव गुटेरेस जलवायु परिवर्तनको असर बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम तय भएको छ । त्यसपछि काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा भाग लिएर महासचिव गुटेरेस पोखरा जानुहुनेछ ।
पर्सि पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनमा जानेभएपछि अन्नपूर्ण गाउँपालिकाले पनि स्वागतको तयारी गरेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताउनुभयो ।
पर्सि नै लुम्बिनीबाट काठमाडौं फर्केर संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि तयारी भइरहेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, विभिन्न मुलुकका राजदूतलाई निमन्त्रणा पठाउने काम भइरहेको छ ।
त्यसपछि संसद परिसरमै महासचिव गुटेरेसले पत्रकार सम्मेलन गर्नुहुनेछ भने यही कात्तिक १५ गते नेपालको चारदिने भ्रमण पूरा गरी फर्कनुहुनेछ ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले गएको सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०