काठमाडौा । पछिल्लो समय सामाजिक सञ्जालमा रुसी सेनामा नेपाली युवा भर्ना भएको बारेमा विभिन्न भिडिओ सन्देश सार्वजनिक गर्नेक्रम बढेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले यसमा सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् ।
रुस र युक्रेन युद्ध चलिरहँदा नेपाली युवालाई रुस पुर्याउन गिरोह सक्रिय भएको भन्दै उनीहरूले सरकारले पर्यटक भिसामा कडाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रलोभन अनि अफवाहको नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार दुबई र नयाँदिल्ली हुँदै नेपाली युवालाई पर्यटक भिसामा रुस पुर्याउन बिचौलियाहरू सक्रिय भएका छन् । संसद अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले पनि यसमा सरकारले उचित निर्णय लिनुपर्ने बताउनुभयो ।
रुसी सेनामा नेपाली युवाको भर्नाका बारेमा अनौपचारिक जानकारी आएको र यसबारेमा केही दिनमै छलफल गर्ने उहाँले सीआईएनसँग बताउनुभयो ।
केही सामाजिक सञ्जाल र सार्वजनिक संचार माध्यममा नेपाली नागरिकहरु विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा परराष्ट्र मन्त्रालयले गत साउनमा ध्यानाकर्षण भएको जनाएको थियो ।
यसबीचमा भने मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन । कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान मन्त्रालयले अनुरोध गरेको छ ।
परराष्ट्रको सूचना
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०, ०८:४९