काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको परिणामस्वरूप नेपालमा डरलाग्दो अन्याय भइरहेको बताउनुभएकाे छ । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले संयुक्त राष्ट्रसंघ जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका समुदायहरूको साथमा रहेको बताउनुभयो । विश्वले पनि नेपाललाई साथ दिनुपर्ने उहाँको भनाइ छ ।
महासचिव गुटरेसले नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र अहिलेको संकटको सामना गर्न ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालले ३० वर्षको अवधिमा हिमनदीको झन्डै एक तिहाइ हिउँ गुमाएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालले डरलाग्दो वातावरणीय समस्या भोग्नुपरेको बताउनुभयो । पानीले भरिएका ताल फुटिरहेको, समुद्रको सतह बढिरहेको, पहाडहरू जोखिममा रहेको, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दै गएकोमा गुटरेसले ध्यानाकर्षण गराउनुभयो । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले ती नदी साँघुरिँदै र सुक्दै गए मानव समुदाय प्रभावित हुने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०, १७:५३