काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमण गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किनुभएको छ। उहाँलाई उप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतले त्रिभुवन विमानस्थलमा विदाइ गर्नुभयो ।
आइतबार बिहान काठमाडौँ आइपुग्नुभएका महासचिव गुटेरेसले संसदका दुबै सदनको संयुक्त बैठकलाई संबोधन गर्नुभएको थियो । नेपालमा रहँदा उहाँले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्नुभयो ।
उहाँले नेपालको शान्ति प्रक्रिया तथा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे चासो राख्नुभएको थियो ।
संसदको संबोधनमा उहाँले शान्ति स्थापनामा नेपालबाट विश्वले सिक्न सक्ने भन्दै जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका दुष्परिणामसँग लड्न संयुक्त राष्ट्रसंघ सँधै साथमै रहेको बताउनुभयो ।
नेपालमा सन् २००८ मा यूएनका तत्कालिन महासचिव वान कि मुन पछि महासचिव गुटेरेसले अहिले भ्रमण गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०, १३:५३