काठमाडौँ । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।
देशभरका ६ महिनादेखि ५९ महिनासम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ए तथा १ बर्षदेखि ५ बर्षसम्मका करिब २४ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम कम गर्न २०५० सालदेखि भिटामिन ‘ए’ र ०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आफ्ना बालबालिकालाई नजिकको स्वास्थ संस्थामा लगि भिटामिन ए र जुकाको औषधि अनिवार्य खुवाउन आग्रह गर्नुभयो ।
आर्थिक वर्ष ०८०/८१ को नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल यस वर्ष भने दसैँ परेकाले आज र भोलिका लागि सारिएको होे ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०, ०९:२८