काठमान्डु । बाजुराको सामुदायिक रेडियो रेडियो बाजुराले यस वर्षको बालसंवेदनशील सामुदायिक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेको छ ।
सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) र केन्द्रीय बालकल्याणकारी समितिले संयुक्त रुपमा प्रदान गर्दै आएको बालसंवेदनशिल सामुदायिक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार नेपालपत्रकार महासंघको सभाहलमा भएको एउटा औपचारिक समाहरोहमा रेडियो बाजुरालाई प्रदान गरिएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले रेडियोका अध्यक्ष लाल बहादुर ओलीलाई पुस्कार हस्तान्तरण गर्नुभयो । पुरस्कार वितरणपछि मन्त्री थापाले समाजमा सहि सुचना र जानकारी दिने काम पत्रकारहरुले नै गर्ने भएकाले समाज रुपान्तरणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारण संघ अकोराबका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोका लागि यो पुरस्कार एउटा हौसला भएको बताउनुभयो । सामुदायिक रेडियोले समुदायमा जागरण र हौसला प्रदान गर्नुपर्नेमा जोड दिंदै खतिवडाले पुरस्कारले रेडियोलाइ उर्जा प्रदान गर्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६, १७:४६