बालकुमार शर्मा
जाजरकाेट । शुक्रबार मध्यराती गएको भूकम्पमा परी जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भएको छ । जाजरकोट जिल्ला अस्पतालमा मात्र अहिलेसम्म ९२ जनाको शव संकलन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । सदरमुकामस्थित घरमै सुतिरहेका बेला घर भत्किँदा उहाँको मृत्यु भएको हो ।
अस्पतालमा कम्तिमा १८० जनाको उपचार भइरहेको छ । अस्पतालका शय्या अपुग भए पछि अस्पतालको भुईँमा राखेर उपचार भइरहेको छ । भूकम्पले कति घरमा क्षति पुग्यो भन्ने विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नमराज भट्टराईकाअनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । कम्तिमा ८५ जना घाइते भएका छन ।
यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको छ । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि अवरुद्ध छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०, ०८:४३