काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया छनोटकाे उपाधि ओमानले जितेको छ । फाइनलमा नेपाललाई सुपरओभरमा हराउँदै ओमान छनोटको च्याम्पियन भएको हो । फाइनलमा पराजित भए पनि नेपाल टी ट्वान्टी विश्वकपका लागि छनोट भइसकेकाे छ ।
१८५ रनकाे लक्ष्य पाएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको हो ।
सुपर ओभरमा नेपालले २२ रनकाे लक्ष्य पाएकाे थियो । तर नेपालले १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा अविनाश बोहोराले बलिङ गर्नुभएको थियो ।
निर्धारित ओभरमा ओमानका कश्यप प्रजापतिले ६३ रन बनाउनुभयो । नेपालका सन्दीप लामिछाने र करण केसीले दुई दुई सोमपाल कामी, गुल्सन झा, विबेक यादव र अबिनाश बोहोराले एक एक विकेट लिनुभयो ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो।
नेपालका गुल्सन झाले ५४ रन बनाउनुभयो । उहाँले २५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्नुभयो । कप्तान रोहित पौडेल ३७ बलमा ५२ रनमा अविजित रहनुभयो ।
यस्तै, कुशल भुर्तेलले ३१ रन बनाउनुभयो भने करण केसीले ६ बलमा २० रन अविजित बनाउनुभयो ।
फाइनल पुगेसँगै नेपाल र ओमान सन् २०२४ को जुन महिनामा हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट भइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०, १४:०४