काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-ट्वान्टी क्रिकेट विश्वकपमा छनोट भएकाे राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेकाे क्यानको बोर्ड बैठकले खेलाडीको सम्मानका लागि ५० लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।
यसैगरी टी-ट्वान्टी विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच भएको प्रतियोगिताको फाइनल खेलमा टिकट बिक्रीबाट संकलित रकमको आधा रकम जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितका लागि उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ।
यस्तै मलेसियामा भएको एसिसी यू १९ प्रिमियर कपमा विजयी भई एसिया कपमा छनोट भएको यू १९ राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यलाई प्रोत्साहन स्वरूप जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ। यस्तै क्रिकेट हङकङको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रका महिला क्रिकेट टिमहरूबीच संचालन हुने टी-२० सिरिजमा नेपालको राष्ट्रिय महिला टोलीलाई पठाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०, १९:५२