टेकराज केसी
जाजरकोट । कात्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम शोकमा डुबेको छ । उसो त सिङ्गो देशले यो दुख महसुस गरेको छ । तर भूकम्पको घानमा परेका जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई एकै पटक धेरै वटा पिडा थपिएका छन् । एकातिर, परिवारका सदस्य, छिमेकी र आफन्त गुमाएको रिक्तता छ भने अर्कोतिर जायजेथा नष्ट भएको पिडा छ । बढ्दो जाडोका बिच बासको प्रबन्ध मिलाउने चटारो मात्र छैन सँगै छ बेला बेला गइरहने परकम्पको त्रास पनि ।
भूकम्प गएको थाहा हुनासाथ स्थलगत रिपोर्टिङका लागि हामी जाजरकोटतर्फ लाग्यौँ । जाजरकोट सदरमुकाम नजिकै रहेको छेडा बजार पुग्दा दिउँसोको २ बज्दै थियो । न्यानो घाममा चौरमा केही व्यक्ती सुतिरहेका थिए । हामी उनीहरूसँग कुराकानीका लागि केही बेर त्यहाँ रोकियौँ ।
भूकम्पले घरमा खासै क्षति नभए पनि रातीको भूकम्पको कम्पनले अहिले पनि मुटु काँपिरहेको उहाँहरूको भनाइ थियो । रातभर निदाउन नसकेकाले अहिले चौरमा सुतेको उहाँहरूको भनाइ थियो । चौरमा सुतेकै बेला भूकम्प आइहाले पनि घर वा अन्य संरचना भत्केर क्षति गर्ने सम्भावना नहुने भएकाले अलि कम त्रास भएको उहाँहरूले बताउनुभयो ।
छेडा बजारदेखि १० किलोमिटर टाढाको खलङ्गा पुग्दा भने धेरै भौतिक क्षति भएको देखियो । आश्रितलाई ओत दिइरहेका घरहरू भूकम्पले भत्काइदिएपछि उदाङ्गो भएका थिए । यकिन तथ्याङ्क आइसकेको थिएन तर घर कि त पूर्ण रूपमा क्षति भएका कि त आंशिक रूपमा क्षति भएका नै थिए । सग्लो घर भेट्टाउन हामीलाई मुस्किल पर्यो ।
ढुङ्गामाटोका घरमा क्षति धेरै
जाजरकोटमा गएको भूकम्पले पक्कीभन्दा परम्परागत घरमा धेरै क्षति पुगेको छ । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी पनि धेरैजसो पुराना घर भत्किएको बताउँदै हुनुहुन्थ्यो । विशेष गरी पछिल्लो समय बनाइएका पक्की घरहरूमा क्षति खासै नपुगेको स्थानीय बासिन्दाको पनि भनाइ थियो ।
जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरहरूमा क्षति पुगेको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाले बताएका छन् । ढुङ्गा र माटोले बनाइएका घरहरूमा धेरै क्षति पुगेको भेरी नगरपालिका २ का स्थानीय गोपाल विकले बताउनुभयो । विगतमा जाजरकोटे राजा बस्ने दरबारसमेत भूकम्पका कारण चिरा परेको छ ।
खलङ्गा बजार नै जोखिममा
भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घरहरू बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिरोको जोखिम रहेको खलङ्गा बजार भूकम्पसँगै पहिरोको जोखिममा समेत परेको देखिन्छ । बजारमा घरमा घर जुधाएर दुबैतिरबाट सडकलाई च्यापिएकाले खुल्ला ठाउँ छैन । भूकम्पका बेला भाग्ने ठाउँ पनि देखिँदैन । बजारदेखि तलतिर पहिरोको जोखिम पनि उत्तिकै छ । जसले स्थानीयबासिन्दालाई थप त्रास दिएको छ । अझ बेला बेला परकम्प गइरहेकाले यो त्रास दोब्बर भएको उनीहरू बताउँछन् । अस्तिको भूकम्पले मन अझै हल्लाइरहेको र परकम्प गइरहँदा त्यो घाउ भुल्नै नसकिएको स्थानीय बासिन्दाको भनाइ छ ।
भूकम्प प्रभावितकाे कष्टकर जीवन
भूकम्पबाट प्रभावित जाजरकोटका नागरिकले खुला आकाश र पालमुनि बसेर रात बिताउनुपरेको दुखेसो गरेका छन् । घरहरू भत्किएका र कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा रहेकाले बाहिरै बस्नु उनीहरूको बाध्यता हो । तर सबैलाई त्रिपाल पनि पुगेको छैन । त्रिपालभित्र रहेकाहरू पनि जाडोका कारण समस्यामा छन् ।
भेरी नगरपालिका २ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित त्रिपालमा बसि रहँदाको दुखेसो सुनाउनुभयो । “एउटा सानो सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । पालमुनि बस्नुपर्दा मलाई भन्दा साना केटाकेटीलाई समस्या भएको छ ।”
उद्धार अन्तिम चरणमा
सरकारले भूकम्पबाट प्रभावित भएकाहरूको उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । सरकारका काममा ढिलाइ हुने गरेको भन्दै आलोचना हुने गरेको बेला जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कालगायत प्रभावित स्थल जाजरकोट पुगेर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको छ । यो ढाडसले प्रभावितलाई केही राहत मिले पनि सरकारको सुस्त काम गराइप्रति उनीहरू सशङ्कित देखिन्छन् ।
प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्री सङ्कलन र वितरण गरिरहेका छन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारहरूले समेत राहत सामग्रीहरू ल्याएर वितरण गरेका छन् । विभिन्न सङ्घ संस्थाहरूले समेत राहत सामग्री वितरण गरेका छन् । सङ्घीय सरकारले एक द्वार प्रणाली अन्तर्गत स्थानीय तहका वडा स्तरबाट राहत सामग्री वितरण गरिने बताएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०, २२:१६