काठमाडौँ । बालबालिकालाई नेपालका प्रधानमन्त्रीको भूमिकाबारे परिचयात्मक जानकारी दिने पुस्तक म प्रधानमन्त्री बन्न सक्छु प्रकाशित भएको छ। पुस्तकमा बालबालिकालाई अधिकार र कर्तव्य बुझाउँदै नेपालमा प्रधानमन्त्रीको चयनदेखि प्रधानमन्त्री कहाँ बस्छन् र के काम गर्छन्, प्रधानमन्त्रीको तलब जस्ता विषय पनि समेटिएको प्रकाशक साङ्ग्रिला मिडिया ग्रुपले जनाएको छ ।
पुस्तकले संघीय व्यवस्था, लोकतन्त्रका लागि भएका आन्दोलन, राज्यका अंगहरु, संसद र सांसदको काम, संविधान, नागरिकप्रतिको जवाफदेहिता लगायतका विषयमा सरल र सरस भाषामा जानकारी दिन्छ ।
प्राथमिक तहका बालबालिकाका लागि प्रकाशित यस पुस्तकलाई भूमि घिमिरे र कर्मा तामाङले लेखेका हुन् । लेखक आन्विका गिरीले सम्पादन गरेको यस पुस्तकमा अनामिका गौतमले चित्र बनाएकी हुन् । अभिभावक तथा शिक्षकको सहयोगले पूर्वप्राथमिक तहका बालिबालिकाले समेत यस पुस्तकबाट लाभ लिन सक्नेछन् ।
किताबका एक लेखक भूमि घिमिरे सामन्ती सोचबाट नेपाली समाज गुज्रिरहेकाले सरकारलाई प्रश्न गर्ने, जवाफदेही बनाउने र बालबालिकालाई स्वतन्त्र राजनीतिको चेत हुने संस्कृति बसोस् भन्ने उद्देश्यले यो पुस्तक लेखेको बताउँछिन् । सामन्ती सोचले लोकतन्त्रको अभ्यास गर्नबाट रोक्ने उनको स्वअनुभवले पनि बालबालिकामा सानैदेखि यसबारे जानकारी रहोस् भन्ने कुराले उनलाई पुस्तक लेख्न प्रेरित गरेको हो । साथै, उनी राज्य संचालन र यसका अवयवहरुबारे पनि बालबालिकालाई थाहा दिनु जरुरी ठान्छिन् । राज्यले कसरी काम गर्छ र कसरी काम गर्नुपर्ने हो भन्न कुरा बालबालिकाका लागि रहस्यमय नहोस् र उनीहरुले सानैदेखि त्यसबारे अध्ययन गर्ने सामग्री पाउन् भनेर आफूले यो पुस्तक लेखेको भूमिको भनाइ छ ।
लेखक कर्मा तामाङ विवेकशील पार्टीसँगको १० बर्से अनुभवमा नेपालीले राजनीतिक गफ धेरै गरे पनि राजनीतिक चेतना भने विकसित नभएको बताउँदै बालबालिकालाई सानै उमेरदेखि नै राजनीति र समाजबारे सूसुचित गराउन आफूले यो पुस्तक लेखेको बताउँछिन् । उनको अनुभवमा धेरै नेपाली पैसा कमाउने वा पद पाउने उद्देश्यले राजनीतिक दलमा लाग्छन् र कुनै राजनीतिक विचारधारा वा दललाई पछ्याउनु नै राजनीतिक चेत भएको भन्ने सोच्छन् ।
तर, राजनीतिक चेतना भनेको राजनीतिक इतिहास र राजनीतिक संरचनाबारे जानकारी हुनु, अधिकार थाहा हुनु, जिम्मेवारी पूरा गर्नु र राजनीतिक निर्णयले व्यक्ति र समुदायलाई पर्ने असरबारे थाहा हुनु पनि हो भन्ने उनको बुझाइ छ । यिनै कुराहरु बालबालिकाले सिक्न, बुझ्न र छलफल गर्न सकुन् भनेर आफूले यस पुस्तक लेखेको कर्माको भनाइ छ । नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित यस पुस्तकले बालबालिकालाई भाषा सिक्न पनि मद्दत गर्ने उनको विश्वास छ ।
लेखकद्वयले यो पुस्तक धेरैभन्दा धेरै बालबालिकाको हातमा पुगोस् भन्ने हेतुले शिक्षा तथा बालबालिकाको क्षेत्रमा काम गरिररहेका व्यक्ति तथा संस्थालाई यो पुस्तक वितरण गरिदिन पनि अपिल गरेका छन् । यस सम्बन्धि विस्तृत जानकारी karmatamang.com मा उपलब्ध छ । हालसम्म करिब सय पुस्तक लेखकद्वयले विभिन्न विद्यालय तथा समुदायमा वितरण गरिसकेका छन् ।
यस पुस्तकले बालबालिकालाई नेतृत्व लिन प्रेरित गर्नका साथै हाम्रो देशको राजनीति र समाजबारे जानकारी दिने प्रकाशकले विश्वास लिएको छ । रङ्गिन चित्र रहेकाे पुस्तकको मूल्य रु ५०० रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०, १०:३४