काठमाडौँ । नेपाल र कोरियाको ग्लोबल इन्स्टिच्युट फर ट्रान्सफरिङ स्कील (गिफ्ट्स) बिच नेपालका कामदारको व्यावसायिक सिप विकासकालागि सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्य र गिफ्ट्सका कार्यकारी निर्देशक बियोङ वुक लीबिच हस्ताक्षर गर्नुभएको हो ।
सहमतिअनुसार इन्स्टिच्युटले कोरियाको श्रम बजारको आवश्यकताअनुसार कोरिया जाने श्रमिकलाई तालिम दिनेछ । यो तालिममा प्रविधिलाई जोड दिइनेछ ।
तालिम प्राप्त नेपाली श्रमिकले उत्पादकत्व वृद्धिमा सहयोग दिने कोरियाली सरकारको धारणा रहेको कार्यकारी निर्देशक बियोङ वुक लीले बताउनुभयो । यस्तै कोरियामा रोजगारी गरेर नेपाल फर्कने कामदारको दिगो पुनर्स्थापनाका लागि पनि कोरिया सरकारले सहयोग गर्ने समझदारी पत्रमा उल्लेख रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताउनुभयो ।
कोरिया नेपाली श्रमिकका लागि सामाजिक सुरक्षाको दृष्टिकोणले समेत राम्रो रहेको सचिव भण्डारीले बताउनुभयो । कोरियाको विकास, सूचना प्रविधि संसारकै लागि अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै नेपाली श्रमिकले समेत कोरियाबाट धेरै कुरा सिक्ने मौका पाउने उहाँको भनाइ छ ।
यसैबिच, भैँसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठानलाई व्यावसायिक प्रशिक्षण प्रतिष्ठान बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद्ले विधेयक समितिबाट पेस भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । निर्णय स्वीकृत भएसँगै अब राष्ट्रिय स्तरको प्रतिष्ठान बनाउने बाटो खुलेको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०, ०९:२०