काठमाडौँ । यसवर्षको तिहार शनिबार (आज)देखि सुरु भएको छ । यमपञ्चक समेत भनिने तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइएको छ । कागलाई सूचनाको संवाहक तथा यमराजको दूतका रुपमा मिठा मिठा खानेकुरा खान दिएर कागतिहार मनाउने गरिन्छ ।
आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयाअर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।
कात्तिक २६ गते आइतबार बिहान कुकुर तिहार मनाइ बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।
यस्तै, गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्मा (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ। नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।
तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिने भाइटीका कात्तिक २९ वुधबार परेको छ । बुधबार विहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । तर भाइटीकाको दिन दिनैभरि टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०, १३:४१