काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका पश्चिमी भेगको मौसम बदली भएको छ । काठमाडाैँसहित कतैकतै फाट्टुफुट्ट पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले पश्चिमी वायुको सामान्य प्रभावका कारण बिहानैदेखि म्याग्दी, मनाङ, अछाम आसपासको पश्चिमी भेगका केही ठाउँमा हल्का पानी परेको जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले यो प्रणाली काठमाडौंसहित मध्य क्षेत्र हुँदै पूर्वतरि सरिरहेकाले मध्य क्षेत्रको मौसम बदली भएको हो ।
बेलुकी ६-७ बजेपछि काठमाडौंसहित मध्य क्षेत्रको मौसम खुलेपनि पूर्वमा भने बादल लाग्ने उहाँले जानकारी दिनुभयो । तर ठूलो पानी वा झरी पर्ने सम्भावना भने कतै पनि नरहेको मौसमविद् झाले बताउनुभयो ।
पश्चिमी वायुको प्रभावले आज म्याग्दी, मनाङ, अछाम आसपास पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०, १५:०२