काठमाडौँ । गएको बिहीबारदेखिको अविरल वर्षापछि बाढी, पहिरो र डुवानका कारण हालसम्म ६० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६० जनाको मृत्यु भएकोमा २४ जना महिला र ३६ जना पुरुष रहेका छन् ।
उपत्यकामा मात्र आठ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी प्रदेश १ मा १९ जनाको मृत्यु भएको छ भने प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोबाट घाइते हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले जनाएको छ ।
देशभरमा २६ जना बेपत्ता रहेका छन् भने एक हजार चार सय ४४ जनाको उद्धार गरिएको छ । बाढी र पहिरोका कारण अवरुद्ध विभिन्न राजमार्गमा तत्काल बेलिब्रिज बनाउने सरकारले निर्णय गरेको छ ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी, डुबान र पहिरो पीडितलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सीआईएनलाई जानकारी दिनुभयो ।
पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगेमा थप पैसा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । सबै सुरक्षा अङ्ग र सरकारी निकायलाई उद्धारमा खटिन निर्देशन दिने निर्णय पनि सरकारले गरेको छ ।
पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीमा राज्यका संयन्त्रहरुलाई परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वास समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।
उहाँले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीमा राज्यका संयन्त्रहरुलाई परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वास समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय उद्दार तथा राहतमा जुट्न र प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन समेत राष्ट्रपति भण्डारीले सबैलाई आह्वान गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६, २०:४२