काठमाडौँ । तेस्रो लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । स्वस्ति श्री गुरुकुल आई. वर्ल्ड स्कुलको आयोजनामा भएको महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्याण्ड, श्रीलङ्का, इजरायल र थाइल्यान्डका रङ्गकर्मीको सहभागिता रहेको नाटकका निर्देशक तथा परिकल्पनाकार टङ्क चौलागाईंले जानकारी दिनुभयो ।
कात्तिक २२ गतेबाट सुरु भएको महोत्सव महोत्सव २५ गते शनिवार समापन भएको हो । महोत्सवको समापन समारोहमा सहभागी रङ्गकर्मीलाई बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
विभिन्न देशका नाट्य रङ्गकर्मी जमघट गराउने उद्देश्यका साथ मात्र नभएर विश्व शान्ति स्थापना, आपसी मेलमिलाप, विश्व भाइचारा स्थापित, विविधतालाई सम्मान साथै देशको पर्यटनमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चौलागाईंले बताउनुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक तथा नाटक महोत्सवका अध्यक्ष मिना महर्जनले “विश्वमा देखिएको अशान्तिले भविष्यका कर्णधार बालबालिका युद्धबाट नराम्ररी प्रभावित भइरहेको अवस्थामा ‘बालबालिकाको लागि शान्ति' नाराको साथ नाटक महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
उद्घाटनका अवसरमा नाट्य प्रतिष्ठानका पुर्व उपकुलपति हरिहर शर्मा प्रमुख अतिथि तथा डा. प्रो सावित्री मल्ल, नाट्यकर्मी अशेष मल्ल, नाट्यकर्मी विजय विस्फोट विशेष अतिथि हुनुहुन्थ्यो । महोत्सवमा नेपालका छ वटा विद्यालय सहभागी रहेका थिए ।
महोत्सव हरेक वर्ष आयोजना हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०, १३:२४