काठमाडौँ । सरकारले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घर पूर्ण वा आंशिक रुपमा भत्काएर बस्न अयोग्य भएकाहरुलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । यसअघि विपद् ब्यवस्थापन समितिको बैठकले भूकम्पले घर भत्काएकालाई अस्थायी आवास बनाउन दुई किस्तामा ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले यसअघि भूकम्पमा परी ज्यान गुमाएकालाई २ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
कात्तिक १७ गते राती गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५३ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा क्षति पुगेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०, १३:५४