भारत विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । ३ सय ९८ रनको लक्ष्य पाएको न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत प्रतियोगिताको फाइनल पुगेको हो ।
न्यूजिल्यान्डका डार्यल मिसेलले १३४ तथा कप्तान केन विलियम्सनले ६९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अन्य ब्याटरले आवश्यकता अनुसार रन बनाउन नसक्दा न्यूजिल्यान्ड ७ बल अघि नै ३ सय २७ रनमा अलआउट भयो । भारतका मोहम्मद सामीले ७ विकेट लिनुभयो ।
मुम्बइको वाङ्खडे मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो । भारतका विराट कोहलीले ११७ तथा श्रेयस ऐय्यरले १०५ रन बनाउनुभयो । शुभमन गिल ८० रनमा अबिजित रहनुभयो ।
यसैबिच विराट कोहली अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सतक प्रहार गर्ने खेलाडी बन्नुभएको छ । हिजो एकदिवसीय क्रिकेटको ५० औँ शतक प्रहार गरेसँगै कोहलीले यो कीर्तिमान आफ्नो नाममा लेखाउनुभएको हो । यसअघि यो कीर्तिमान भारतकै सचिन तेन्दुलकरको नाममा थियो । सचिनले ४५१ खेलबाट ४९ शतक बनाएकोमा कोहलीले २७८ औं खेलमा नै ५० शतक बनाउनुभएको हो ।
यस्तै, विराटले विश्वकपको एउटै संस्करणमा ७ सय भन्दा बढी रन बनाउने कीर्तिमान पनि बनाउनुभएको छ ।
विश्वकप क्रिकेटको सेमिफाइनमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल भारतको कोलकातामा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०, ०५:५८