काठमाडौँ । समुन्द्री सतहबाट करिब साढे २३ सय मिटर उचाइ र रुकुम सदरमुकाम खलङ्गाबाट ६ कोश दक्षिण पूर्वमा सामुदायिक रेडियो समावेशी छ ।
कात्तिक १७ गते रातिको भूकम्पले रेडियोको लागि बनाइएको कच्ची घरको भूइँ भासियो, पर्खाल भत्कियो । कम्प्युटर, माइक, रेकर्डरलगायतका उपकरण सद्दे रहेनन् ।
गङ्गा बुढाथोकी अरु बेलामा रेडियोमा नै बास बस्नुहुन्थ्यो । भूकम्प आउँदा शिक्षक लाइसेन्सको परीक्षा दिन उहाँ नेपालगञ्ज पुग्नुभएको थियो ।
‘यहीँ भएको भए सायद मेरो काल पनि हुन्थ्यो होला । मेरै बिछौनामा रेडियोको भवनको चुली भत्केर सिरानीमा झरेको रहेछ । कपडालत्ता सबै पुरिएको रहेछ । धन्न ज्यानचाहिँ बाँच्यो ।’ बुढाथोकीले भन्नुभयो ।
भूकम्पको तेस्रो दिनमा टेन्टमुनिबाट अस्थायी प्रसारण सुरु गरेको रेडियोले हिजोआज विपद्को समयमा ध्यान दिनुपर्ने कुरा, देखिने चुनौती र अपनाउन सकिने सावधानीका बारेमा विभिन्न सामग्री प्रसारण गर्दै आएको छ ।
स्टेशन म्यानेजर गोपाल ओलीका अनुसार रेडियो टेन्टमुनिबाट अस्थायी रूपमा सञ्चालन भएको छ । तत्कालका लागि सामान्य पानी परे पनि उपकरण बचाउन सक्ने अवस्था छैन ।
‘राति प्लाष्टिकले छोपेर उपकरणको सुरक्षा गर्ने गरेका छौँ । हामीलाई सानोसानो उपकरणको पनि माया लाग्छ । नजिकै कुनै पनि भवन छैन । भएमा सार्न हुन्थ्यो ।’ ओलीले थप्नुभयो, ‘ त्यसैले हामीलाई रेडियोको आफ्नै भवन नै जरुरी छ ।’
आर्थिक अभाव र कच्ची घर बनाउने चलनचल्तीलाई पछ्याइएका कारण रेडियोले क्षति बेहोर्नुपरेको रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पुन बताउनुहुन्छ । रेडियोको नयाँ भवन बनाउँदा अब भूकम्प प्रतिरोधी बनाइने उहाँको भनाइ छ ।
भूकम्पका कारण सबैभन्दा धेरै मानवीय क्षति जाजरकोटको नलगाड नगरपालिकामा भयो । वडानम्बर ५ खनटाकुरामा रहेको रेडियो नलगाडको भवनमा पूर्ण क्षति पुगेको छ ।
यसअघि जोडिएका कुनै पनि उपकरण काम लाग्ने छैनन् । तर पनि टेन्टबाट भए पनि केही दिनमा प्रसारण सुरु गर्ने तयारी भएको रेडियो सञ्चालक समितिका सचिव कुशल दर्लामीले जानकारी दिनुभयो ।
रेडियो सञ्चालनका लागि स्थानीय सरकारका प्रतिनिधिसँग पनि कुराकानी भइरहेको बताउँदै दर्लामीले आफूहरूले सामुदायिक रेडियोहरूको छाता सङ्गठन अकोराब, नेपाल पत्रकार महासङ्घ र स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको सुनाउनुभयो ।
रेडियो बन्द भयो, बस्ने र खानेको टुङ्गो भएन । तर पनि पत्रकार टीका बीसीले भूकम्प प्रभावितको समस्याका बारे रिपोर्टिङको काम रोक्नुभएको छैन ।
भूकम्प गएको राति नै आफूहरूले घाइतेहरूको उद्धारमा खटिएको र त्यो बेलाको मानिसहरूको क्रन्दन, गुहार सम्झँदा हिजोआज निदाउन पनि गाह्रो हुने गरेको उहाँले बताउनुभयो ।
आफ्ना आफन्तजन घाइते, अभावमा रहँदा पनि रिपोर्टिङको काम रोक्नु हुँदैन भनेर भूकम्प प्रभावितको अवस्था, आवश्यकताका बारेमा कलम चलाइरहेको पत्रकार बीसीको भनाइ छ ।
भूकम्पअघिसम्म जाजरकोट सदरमुकामको खलङ्गा एफएम भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । त्यो घर पूरै भत्किँदा यूपीएस, मिक्सरलगायतका उपकरणमा क्षति पुगेको छ ।
टेन्ट माग्दा पनि नपाइएपछि रेडियो जाजरकोटको टेन्टको एउटा कुनाबाट प्रसारण सुरु गरिएको छ ।
रेडियोका स्टेशन म्यानेजर सरोज ओली भन्नुहुन्छ,‘विपद्को समयमा रेडियोलाई अस्थायी रूपमा चलाउन लागि समन्वय गर्न सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबले टोली पठाएर राम्रो काम गरेको छ । अहिले हामी रेडियो जाजरकोटको टेन्ट मुनिबाट प्रसारण गरिरहेका छौँ । तीनै तहका सरकारबाट पनि भूकम्प प्रभावित रेडियो र रेडियोकर्मीका लागि कुनै सहयोग होला भन्ने आशा छ ।’
२०६६ सालमा रेडियो हाम्रो पाइला जाजरकोटको रामजानकी टोलमा खुल्दा सल्यानको सल्ली बजारबाट सामान बोकेर ल्याइएको थियो ।
रेडियो स्थापनाको एकदुई वर्षपछि मात्रै खलङ्गामा पक्की घर बन्न थाले । रेडियोको भवन सुरक्षित नभएपछि हिजोआज टेन्टमुनिबाट प्रसारण सुरु गरिएको स्टेशन म्यानेजर लीला पौडेल बताउनुहुन्छ ।
कात्तिक १७ गते रातिको भूकम्पले खासै असर नपारे पनि त्यसपछिको परकम्पका कारण रेडियोको भवन जोखिममा परेको र पुरानो भवनबाट काम गर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
शारीरिक रूपमा अपाङ्गता भएका प्रेम बीसी रेडियो हाम्रो पाइलामा प्राविधिकको जिम्मेवारीमा हुनुहुन्छ । तर अस्थायी रूपमा टेन्टबाट रेडियो नचल्दासम्म उहाँ स्टुडियो जान सक्नुभएन ।
भूकम्प जाँदाको रात सम्झँदै प्राविधिक बीसीले भन्नुभयो, ‘हातखुट्ट सजिलै चल्न सक्नेहरू बाहिर निस्के । बसिरहेको घरबाट बाहिर निस्कन मैले श्रीमतीको सहयोग लिनुपर्यो । अपाङ्गमैत्री रेडियोको भवन बनाउनुपर्ने रहेछ भन्ने लागेको छ । तर फेरि प्रविधिकको काम स्टुडियोमै हुन्छ । हामीले एक छिन पनि छोड्न मिल्दैन ।’
नेपाल पत्रकार महासङ जाजरकोटका अनुसार जिल्लामा रहेका २१ जना रेडियोकर्मी भूकम्पबाट प्रत्यक्ष प्रभावित छन् । शारदा पुन रेडियो हाम्रो पाइलामा आबद्ध हुनुहुन्छ । खलङ्गामा कोठा भाडामा बस्दै आएको उहाँको घर भूकम्पका कारण भत्कियो ।
बाहिर निस्कन खोज्दा ढोका नखुलेपछि अत्तालिनुभएका उहाँ घरको पश्चिमपट्टीको भाग भत्कँदै गर्दा निस्कनुभयो तर ल्यापटप, लुगालत्ता निकाल्न पाउनुभएन ।
हिजोआज भूकम्प आउँदाको त्यो दिन सम्झेर रिपोर्टिङमा राम्रोसँग खट्न नसके पनि बिस्तारै सामान्य हुने अपेक्षा उहाँको छ । ‘जेसुकै भए पनि धन्न बाँचियो । यसैमा खुसी छु ।’ शारदाले अनुभव सुनाउनुभयो ।
मानसिक रूपमा परेको नकारात्मक प्रभावका कारण कतिपय पत्रकार रातिमा निदाउन र दिनमा सजिलै खट्न सक्दैनन् ।
तर पनि उनीहरूले सूचना सम्प्रेषणको जिम्मेवारी राम्रोसँग निभाएको सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका केन्द्रीय सदस्य तथा पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्माको बुझाइ छ ।
भूकम्पका कारण प्रभावित रेडियोकर्मीसहितका पत्रकारहरू र उनीहरूले बेहोर्नुपरेको क्षतिका बारेमा नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा जानकारी दिनेदेखि बन्द भएका रेडियो अस्थायी रूपमा भए पनि सञ्चालनको लागि समन्वय भइरहेको शर्माले जानकारी दिनुभयो ।
‘अकरोबले बन्द भएका रेडियो सञ्चालनका लागि प्राविधिक जाजरकोट र रुकुम पश्चिममा परिचालन गरेर राम्रो सहयोग गरेको छ । कतिपय बन्द भएका रेडियो पनि यसबीचमा टेन्टमुनिबाट अस्थायी रूपमा चलाइएको छ। ’ उहाँले थप्नुभयो ।
भूकम्प प्रतिरोधी भवन बनाउन सडक र ढुवानी सुविधाले साथ नदिएका कारण कच्ची घर बनाइएका कारण क्षति बेहोर्नुपरेको रेडियो सञ्चालकहरू बताउँछन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले भूकम्प लगतै प्रभावित रेडियोका लागि स्थलगत रूपमै प्राविधिक सुविधा दिन सहजीकरण गरेको थियो ।
भूकम्पका प्रभावित रेडियो र रेडियोकर्मीलाई युनेस्कोको सहयोगमा आवश्यकता अनुसार प्राविधिक उपकरण, क्षमता विकास र मनोपरामर्श सेवा दिने तयारी गरेको छ ।
नागरिकलाई सूचनाको भोक मेटाउने रेडियो र रेडियोकर्मी पनि भूकम्पका कारण प्रभावित भए ।
कसैको घर भत्कियो, कसैले आफन्त गुमाए, कसैको बस्नलायक ठाउँ भएन । तर पनि उनीहरू विपद्मा सही सूचना दिन आफ्नो दुख र अभाव भूलेर खटिरहेका छन् ।
भिडिओ हेर्नुहोस्ः
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०, १२:२९