एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले कीर्तिमानी छैटाैँपटक विश्वकप उपाधि उचालेको हो ।
२ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका ट्राभिस हेडले सबैभन्दा धेरै १३७ रन बनाउनुभयो । मार्नस लाबुसेन ५८ रनमा अबिजित रहनुभयो ।
बलिङमा राम्रो सुरुवात गरेको भारतले १६ रनमा पहिलो, ४१ मा दोस्रो र ४७ मा तेस्रो विकेट लिएको थियो । तर हेड र लाबुसेनले विश्वकप फाइनलको दोस्रो धेरै रनको साझेदारी गर्दै अस्ट्रेलियालाई फराकिलो जित दिलाउनुभयो । हेड र लाबुसेनले चाैथाे विकेटका लागि १९२ रनको साझेदारी गर्नुभयो ।
ट्राभिस हेड विश्वकपको फाइनलमा शतक प्रहार गर्ने अस्ट्रेलियाको तेस्रो ब्याटर पनि बन्नुभएको छ ।
भारतका जसप्रित बुमराहले २ तथा माेहम्मद सामी र माेहम्मद सिराजले १-१ विकेट लिनुभयो ।
जारी विश्वकपमा लगातार १० खेल जितेर फाइनल पुगेकाे भारतले फाइनलमा अस्ट्रेलियालाई हराउँदै सन् २००३ को फाइनलमा ब्यहोरेकाे हारको बदला लिने माैका भने उपयोग गर्न सकेन ।
अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारत ५० ओभरमा २ सय ४० रनमा अलआउट भयो । भारतका लोकेश राहुलले ६६, विराट कोहलीले ५३ र कप्तान रोहित शर्माले ४७ रन बनाउनुभयो ।
भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनि त्यो लयलाई कायम राख्न भने सकेन ।
अष्ट्रेलियाका मिसेल स्टार्कले ३ तथा कप्तान प्याट कमिन्स र जोश हेजलवुडले २-२ विकेट लिनुभयो । यस्तै एडम जाम्पा, ग्लेन म्याक्सवेलले एक एक विकेट लिनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०, २१:१४