नुवाकोट । नुवाकोट एफएमले शंखध्वनी प्रतियोगिता गर्ने भएको छ । मङसिर ६ गते बुधबार बिदुर नगरपालिका ५ स्थित जालपादेवी मन्दिर परिसरमा प्रतियोगिता गर्न लागिएको नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिनुभयो ।
मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा ६० जना भन्दा बढी सहभागी हुने अधिकारीले बताउनुभयो ।
सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनका लागि रसुवा, नुवाकोट र धादिङ जिल्लामै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को गर्न लागिएको उहाँको भनाई छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ३ हजार एक सय रुपैयाँ पुरस्कार दिइने आयोजक नुवाकोट एफएमले जनाएको छ ।
प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन पाउने प्रतियोगितामा शंखको विषयमा पिएचडी गर्न लागेका व्यक्ति निर्णायक रहनेछन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०, १२:३४