काठमाडौँ । नेपालका पाँच वर्ष मुनिका २५ प्रतिशतभन्दा बढी बालबालिकाको जन्म दर्ता हुन नसकेको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको असारमसान्तसम्म नेपालमा पाँच वर्ष मुनिका ३० लाख ७ हजार ६४८ जना बालबालिका रहेकोमा २२ लाख २६ हजार ७१५ जनाको मात्र जन्म दर्ता भएको छ ।
७ लाख ८० हजार ९३३ जना बालवालिकाको जन्म दर्ता हुन सकेको नसकेको परिषदले जनाएको छ । सवैभन्दा धेरै कर्णाली प्रदेशमा ८७ दशमलब २८ प्रतिशत बालबालिकाको जन्म दर्ता भएको छ । यस्तै, सबैभन्दा कम बागमती प्रदेशमा ६७ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता भएको पाइएको छ ।
अन्य प्रदेशहरूमा भने औसतमा ७४ प्रतिशतभन्दा कम बालबालिकाको जन्मदर्ता भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले तीन चौथाइ बालबालिकाको जन्मदर्ता भयो भनेर खुशी भइरहँदा एक तिहाइ बालबालिकाको अवस्थाबारे कम ध्यान पुगेको बताउनुभयो ।
यसैबिच, नेपालका २२ लाख बालबालिकाको जीवनयापनमा समस्या रहेको तथ्याङ्क प्रकाशित भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था आसमान नेपालले विश्व बाल दिवसको अवसरमा प्रकासित गरेको बालबालिका सम्बन्धी स्थितीपत्रमा २२ लाख बालबालिकालाई जिवनयापनमा समस्या रहेको उल्लेख गरिएको हो ।
त्यस्तै ५ देखि १७ वर्षका १५ दशमलव ३ प्रतिशत बालबालिका श्रममा संलग्न रहेको देखिएको छ । बालश्रम प्रतिवेदन २०२१ अनुसार श्रमिक बालबालिकाको सङ्ख्या भने सन् २००८ को तुलनामा ५ लाखले कमी आएको छ । यस्तै ७२ जना बालबालिका आफ्ना अभिभावकसँग कारागारमा बस्न बाध्य रहेको अध्ययनले देखाएको छ । आसमान नेपालले यस क्षेत्रमा कार्यरत ४४ वटा सङ्घ संस्थासँग मिलेर बालबालिकाको अवस्थाबारे अध्ययन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०, १३:०५