काठमाडौँ । काठमाडौँको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनी नेपाल फ्रेट सर्भिस जेभीले पाएको छ ।
बन्दरगाह सञ्चालनका लागि गरिएको ‘ग्लोबल टेन्डर’मा दुई वटा कम्पनीले आवेदन दिएकोमा उच्च मूल्य बोलकबोल गर्ने नेपाल फ्रेट सर्भिस जेभीलाई जिम्मा दिइएको बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ।
बन्दरगाह सञ्चालन गरेबापत यो कम्पनीले सरकारलाई ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने छ। सुक्खा बन्दरगाह सञ्चालक कम्पनीको रूपमा पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी छनोट भएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो ।
टर्मिनल पट्टा बहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम सुख्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणाली मार्फत छनोट भएको र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा ५ वर्षका लागि हुने सञ्चालन समझदारी भने केही दिनमा हुने समितिले जनाएको छ ।
विश्व वैकको १ अर्ब ६७ करोड रुपैयाँ ऋण लिएर बनाइएको यो सुख्खा बन्दरगाह २०७८ साल चैत २२ गतेदेखि समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन भइरहेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०, १५:३१