काठमाडाैँ । नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै संवाद सम्मेलन सम्पन्न भएको छ ।
ललितपुरमा दुई दिन चलेको सम्मेलनले शान्ति प्रक्रियालाई सबद्ध सबै सरोकारवाला, सरकार र राजनीतिक दलहरुलाई संवादका माधयमबाट निष्कर्षमा पुर्याउन अपिल गर्दै घोषणापत्रसमेत जारी गरेको छ । पाँच बुँदे घोषणापत्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनेदेखि अहिंसात्मक सामाजिक रुपान्तरण र जिवन्त शान्तिका लागि संवाद संस्कृतिको विकास तथा प्रवर्द्धन गर्नुपर्ने, संघीय, प्रादेशिक र स्थानीय तहमा हुने द्वन्द्व समाधान र राजनीतिक, सामाजिक समस्याहरुको समाधानका लागि सामुहिक प्रयत्न गर्नका लागि राज्य संरचना भित्र संवादको संयन्त्र आवश्यक भएकाले राष्ट्रिय स्तरमा संवाद परिषद र प्रत्येक तहमा परिषदका संरचनाहरु बनाई संवादलाई संस्कृतिको रुपमा विकास गर्न सवै सरोकारवालाहरुलाई आह्वान गरिएको छ ।
सम्मेलनमा शान्तिपुर्ण संवादको माध्यमबाट द्वन्द्व र राजनीतिक रुपान्तरणमा विश्वास गर्ने, संवाद अभ्यासकर्ताहरुको समुदाय, राष्ट्रिय र अन्तर्र्राष्ट्रियस्तरका सहभागीहरुको विचार, दृष्टिकोण र अनुभव आदान प्रदानका गर्नका लागि ३६ वटा नागरिक समाज संस्था, अन्तर्राष्ट्रिय स्तरका संस्था, नेपाल सरकारका प्रतिनिधि र अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागिता थियो ।
सम्मेलनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियका संवाद अभ्यासहरुको अनुभव आदान प्रदान गर्दै द्वन्द्वको अहिंसात्मक रुपान्तरण र राजनीतिक परिवर्तनको महत्वपूर्ण माध्यम संवाद नै भएको निष्कर्षसमेत निकालेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०, १७:२७