काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । नेकपा एमालेको युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्ने भए पछि शान्ति सुरक्षालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा झडप हुनसक्ने तथा घुसपैठ भई अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले सीआईएनलाई जानकारी दिनुभयो ।
उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो । जसअनुसार बिहानैदेखि हतियारसहितका र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । युवा सङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने भएकाले दुवैको कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यकाका सडकमा सवारी साधनको चाप भने आज निकै कम देखिएको छ । ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर ननिस्कन आग्रह गरेको छ ।
विभिन्न स्थानबाट जुलुस निस्किने भएकाले निगरानीका लागि जुलुसमा सादा पोसाकका सुरक्षाकर्मी पनि रहने साथै सीसीटीभी फुटेज तथा ड्रोनबाट पनि निगरानी गरिने प्रहरीले जनाएको छ ।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५ सय ८८ सशस्त्र प्रहरी परिचालित गरिने छ । यसबाहेक काठमाडौँमा २ हजार ६ सय ३७ जना, ललितपुरमा ५ सय ६४ जना र भक्तपुरमा ४ सय ४ जना थप प्रहरी परिचालन गरिने छ । यस्तै ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९ सय ७८ जना ट्राफिक प्रहरी खटिनेछन् । अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विशेष सुरक्षा योजना अन्तर्गत उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमान्ड सेन्टर बनाइएको छ। जसमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालयका अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर-माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत क्षेत्रका वरपर ५ जना भन्दा धेरै जना उपस्थित हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । यसै गरी जिल्ला प्रशासन कार्यालय ललितपुरले पुलचोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्र सङ्घको कार्यालय वरपरको क्षेत्रमा छ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०, १०:३३