काठमाडाैँ । नेकपा एमालेका भातृ संस्थाहरू युवा सङ्घ नेपाल र अनेरास्ववियु तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेका छन् । प्रसाईँ पक्षले बल्खुमा र युवा सङ्घ तथा अनेरास्ववियुले तीनकुनेमा कार्यक्रम गरेका हुन् । दुवै पक्षले माइतीघर मण्डलमा प्रदर्शन गर्ने घोषणा गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै भिन्नाभिन्नै ठाउँ तोकेको थियो । बल्खुमा भएको कार्यक्रममा दुई पक्षबिच केही बेर झडप भएको थियो । यस्तै प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोज्दा प्रहरीले अश्रु ग्यास र पानीको फोहरा हानेको थियो । तीनकुनेको कार्यक्रममा एमाले नेता तथा युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले सम्बोधन गर्नुभएको थियो । दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो । डीआईजीको नेतृत्वमा कमान्ड गठन गरी सुरक्षाकर्मी परिचालन गरिएको थियो । तस्बिरमा हेराैँ दुबै ठाउँका प्रदर्शन र कार्यक्रम
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०, १६:३९