काठमाडाैँ । अस्ट्रेलियासँगको शृङ्खलाको पहिलो टी ट्वान्टी क्रिकेटमा भारत २ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको शृङ्खलामा भारतले १-० को अग्रता लिएको छ । २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले खेल सकिन १ बल बाँकी हुँदा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका सुर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित ८० तथा ईशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाउनुभयो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा ३ विकेट लिए पनि अस्ट्रेलियाले जित्न सकेन ।
त्यसअघि भारतको विशाखापट्नममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । विकेटकिपर जोस इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रन बनाउनुभयो भने स्टिभ स्मिथले ४१ बलमा ५० रन बनाए पछि अस्ट्रेलियाले २०८ रनको ठूलो योगफल बनाएको थियो । यी दुई टोलीबिच दोस्रो खेल आइतबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०, ०८:०६