जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित सामुदायिक रेडियोलाई उपकरण हस्तान्तरण गरिएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको पहल तथा समन्वयमा युनेस्को काठमाडौँले उपलब्ध गराएको उपकरण रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोलाई आवब्यकताका आधारमा हस्तान्तरण गरिएको हो ।
रुकुम पश्चिमको रेडियो समावेशीलाई मिक्सर, ल्यापटप, माइक, हेडफोन हस्तान्तरण गर्न झुलनेटास्थित रेडियोको प्राङ्गणमा आयोजित कार्यक्रमलाई टेलिफोनमार्फत सम्वोधन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले भूकम्पको समयमा सामुदायिक रेडियोको महत्व अझ धेरै हुने भएकाले अकाराबले तत्कालीन तथा दीर्घकालीन रूपमा सहयोग गर्ने नीति लिएको बताउनुभयो ।
प्रभावित रेडियो र रेडियोकर्मीलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले सरकारी तथा गैरसरकारी निकायसँग भएका संवाद सकारात्मक रहेको उहाँको भनाइ छ ।
आफै स्थलगत रूपमा जाजरकोट र रुकुम पश्चि पुग्न नसकेको तर पनि अकोराबका प्रतिनिधि प्रभावित क्षेत्रमा भूकम्पको दोस्रो दिनदेखि निरन्तर खटिरहेको जानकारी उहाँले दिनुभयो ।
सामाग्री हस्तान्तरन कार्यक्रममा त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका उपाध्यक्ष राजकुमारी रेउले खड्काले रेडियो समावेशीलाई सजिलो हुनेगरी राहत तथा पुनस्र्थापना गर्न आफूहरू सकारात्मक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले विपद्को बेलामा सामुदायिक रेडियोको भूमिका अझ बढ्ने भएकाले आगामी दिनमा पालिकाको तर्फबाट आवश्यक सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समावेशी रेडियोसहित, जाजरकोटको रेडियो खलङ्गा, रेडियो जाजरकोट, रेडियो हाम्रो पाइलालाई उपकरण सहयोग गरिएको छ ।
रेडियो जाजरकोटका स्टेशन म्यानेजर नवराज शाहीले आफूहरूले विपद्पछिको अवस्थाका बारेमा भूकम्प प्रभावितलाई सही सूचना दिनका लागि सक्रिय भएको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०, २३:०५