काठमाडाैँ । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको रत्नपार्कसम्म चल्ने द्रुत बस सेवा आइतबार (आज)बाट पुनः सुरु भएको छ। सञ्चालनको तरिकामा केही परिमार्जन गर्दै बस सेवा पुन: सञ्चालन गर्न लागिएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सीआईएनसँग बताउनुभयो । यो सेवामा अब ११ वटा बस थपेर ३६ वटा पुर्याइएको छ ।
यसअघि सुर्यविनायकबाट पाँच–पाँच मिनेटमा छुट्ने गरेका द्रूत सेवाका बस अब तीन–तीन मिनेटमा छुट्ने अध्यक्ष स्वाँरले बताउनुभयो ।
यस्तै बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म र बेलुकी साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने छ । यसैगरी धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने छ ।
यस्ता मुख्य जक्सनहरूमा कोन राखेर तीन मिटर जति खाली ठाउँ छुट्याइने र ती ठाउँमा अन्य सवारी साधन जान नपाउने उहाँले बताउनुभयो ।
संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ गते द्रूत बस सञ्चालनमा ल्याएपनि कार्यान्वयनमा समस्या आएपछि एक महिनामै सेवा बन्द भएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०, ११:३९