रुकुम । रुकुम पश्चिमका क्रियाशील पत्रकारहरूले जाजरकोट भूकम्पपछिका विभिन्न चरणमा गर्न सकिने रिपोर्टिङका विषयमा मार्गदर्शन आवश्यक रहेको बताएका छन् ।
उनीहरूले विपद्को बेलामा सामान्यभन्दा पनि फरक ढङ्गबाट रिपोर्टिङ गर्नुपर्ने भएका कारण सरोकारवाला निकायले यसमा सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमको संयोजन, युनेस्को काठमाडौँ, र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) को सहकार्यमा मुसिकोटमा भएको प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रममा पत्रकारले जाजरकोट भूकम्पपछि स्थलगत रूपमा काम गर्दाको अनुभव सुनाएका थिए ।
छलफलमा रुकुम पश्चिमका ३० जना पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा भूकम्प प्रभावित पत्रकारलाई मनोविद् गोपाल बोहराले भूकम्पपछि शारीरिक तथा मानसिक रूपमा देखिने परिवर्तन र यस्तो अवस्थाको सामनाका लागि अपनाउनुपर्ने सावधानीका विभिद प्रक्रिया अनि विधिका बारेमा जानकारी गराउनुभएको थियो ।
तनावको बेलामा आफैले आफैलाई सम्हाल्नका लागि अपनाउन सकिने विधि (रिल्याक्सेसन) को बारेमा पनि उहाँले अभ्यासमार्फत बताउनुभएको थियो ।
कार्यक्रममा सहभागी ४ जना पत्रकारलाई अर्को चरणको मनोविमर्शका लागि छनोट गरिएको मनोविद् बोहराले बताउनुभयो ।
सीआईएनका कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले विपद्को रिपोर्टिङसँगै उद्धार र राहतमा पत्रकार र सञ्चारमाध्यमो भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।
भूकम्पको बेलामा फैलन सक्ने अफवाह, गलत सूचना नियन्त्रण तथा विपत्पछिको समाचार सङ्कलन रणनीतिको बारेमा पनि उहाँले छलफल गर्नुभएको थियो ।
सञ्चारमाध्यमले प्रभावित नागरिक, सरकारी तथा गैरसरकारी निकाय र सहायताकर्मीहरूलाई कसरी जोड्न सक्छन् भन्ने बारेमा उहाँले प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य बालकुमार शर्माले भूकम्पका कारण यस क्षेत्रका पत्रकारहरूलाई नयाँ अवसर आएको र यसको सदुपयोग गरेर आफ्नो क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
भूकम्पमा पनि रेडियोकर्मीहरूले आफ्नो पीडा लुकाएर निरन्तर समाचार सम्प्रेषण गर्नु आफैमा एउटा महत्त्वपूर्ण इतिहास बनेको र यो सवैका लागि प्रेरणाको स्रोत बन्ने उहाँको भनाइ छ ।
यसअघि जाजरकोटका २२ जना पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग कार्यक्रम सञ्चालन गरिनुका साथै क्षमता अभिवृद्धिका बारेमा छलफल गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०, १०:४८