काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सडक कालोपत्र गर्दा नापी किताबमा बास्तविकभदा बढी चढाइ भुक्तानी गरि अनियमितता भएको पाइएपछि रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्धारिकाप्रसाद दाहाल, इञ्जिनियर देवेन्द्रनारायण चौधरी र सवइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
यस्तै रामधुनी नगरपालिका–३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ सुनिलकुमार चौधरीविरुद्ध पनि समान बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । यसका साथै जाल्पा सिद्ध निर्माण सेवा पकली सुनसरीमा प्रोपाइटर नानुकुमारी निरौलाविरुद्ध पनि दुई लाख १२ हजार ७३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०, १६:०९