काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर स्तरीय बाँसुरी बादन प्रतियोगिता गर्ने भएको छ ।
२९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने समूहले महानगरले उपलब्ध गराएको फाराममा नाम, ठेगानासहित प्रतियोगितामा बजाउने बाँसुरीको स्केलसहितको विवरण भरी टोल, गुथि वा संघ संस्थाका गुरु र वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले बताउनुभयो ।
प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्ने र यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनुपर्ने नियम रहेको छ ।
एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नुपर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने र सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्ने मुनिकारले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार रुपैयाँ र चाँदीको ठूलो बाँसुरी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रो हुनेलाई ५० हजार रुपैयाँ र चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ । सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०, १४:०७