काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री वितरण र उपभोग गर्न नपाइने भएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले मङ्सिर २७ गतेदेखि प्लास्टिकमा प्याक गरिएका चुरोट, खैनीलगायत सबै सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको जानकारी दिएको हो ।
मङ्सिर २७ गतेदेखि चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र उपभोग गर्न नपाइने विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले २९ औँ महानगर दिवसको अवसर पारेर यस प्रकारका बस्तु सार्वजनिक स्थलमा मात्र नभएर कुनै पनि पसलमा पनि बेच्न नपाइने गरी बन्देज लगाइने सीआईएनसँग बताउनुभयो ।
कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने पनि उहाँले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था रहेकाले उक्त ऐनअनुसार यो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०, १४:५४