काठमाडौँ । कुमार नगरकोटीको संस्मरण किताब ‘जोगियाना’ लोकार्पण भएको छ ।
आफ्नो लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीको सो किताब सार्वजनिक भएको हो । पाटन दरबारको आँगनमा आयोजित ‘नगरकोटी–उत्सव’मा नगरकोटीले आफ्ना आधा दर्जन कविता र गीत सुनाउनुभएको थियो । उहाँले आफु ‘पोस्ट मोर्डनिज्म’ मा साहित्य लेख्ने भएपनि अझै कम्प्युटरमा लेख्नुको साटो कलमले नै लेख्ने गरेकाले आफु लोपोन्मुख प्रजातीको लेखक भएको ठट्यौली समेत गर्नुभयो ।
संस्मरण लेखनको यात्रामा नगरकोटीलाई लेख्न प्रेरित गरी पत्रपतृकामार्फत पाठकमाझ पु¥याउन सहयोग गरेका पत्रकारहरु यज्ञश, दीपक सापकोटा र वसन्त बस्नेतले ‘जोगियाना’को लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गर्नुभएको थियो भने बस्नेतले नगरकोटीको लेखनीबारे धारणा राख्नुभयो । कार्यक्रममा विप्लव प्रतीक, गनेश पौडेल, शिवानी सिंह थारु, महेशविक्रम शाहलगायतसँग नगरकोटीको लेखनीबारे भूपेन्द्र खड्काले छोटो कुराकानी गर्नुभएको थियो ।
नगरकोटीका १९ वटा संस्मरणहरूको यस पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।
नगरकोटीका मोक्षान्त, काठमाडौं फिभर, मिस्टिका, फोसिल, अक्षरगन्ज, दोचा, कल्पग्रन्थलगायत पुस्तक चर्चित छन् । कविता, नाटक, सिनेमा पनि लेखेका नगरकोटीका रचना २५ वर्षअघि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्ने समकालीन साहित्य, कविता जस्ता विशेषांकहरुमा पहिलोपटक छापिन थालेका हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०, १६:०४