काठमाडाैँ । आज धुम्म भएको माैसम भोलिदेखि क्रमिक रूपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको र यो क्रम भोलिदेखि क्रमशः हट्दै जाने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
यो प्रणालीको प्रभावले देशका पहाडी भूभागका एक दुई ठाउँमा फाट्टफुट्ट पानी परे पनि अरु ठाउँमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले सीआईएनलाई बताउनुभयो ।
यस्तै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ । उहाँका अनुसार यो प्रणालीको प्रभाव आज रातिसम्मै रहने भएकाले मौसम बदली कायमै रहनेछ । भोलि दिउँसोदेखि भने मौसम खुल्दै जाने पनि मौसमविद् अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०, १४:५०