प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्तालाई आह्वान गर्नुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन अवुधाबी पुगेका बेला प्रधानमन्त्री प्रचण्डले नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको फाइदा लिन आह्वान गर्नुभएको हो ।
दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले नीतिगत सुधार गरेको र थप सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन घनिभुत सहकार्य र साझेदारी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिकाको ठुलो सम्भावना रहेको बताउनुभएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ।
नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०