पोखरा । मधेस प्रदेशले केपी ओली कप टी ट्वान्टी कप क्रिकेटको उपाधि जितेको छ । पोखरामा आज भएको फाइनलमा मधेसले फाइनलमा आर्मीलाई १० रनले हराउँदै उपाधि उचालेको हो ।
बलियो विभागीय टोली आर्मीलाई हराउँदै मधेसले उपाधि जित्दै घरेलु क्रिकेटमा विभागीय टोलीको दबदबामा ब्रेक लगाइदिएको छ ।
मधेस प्रदेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । विवेक यादव र सोमपाल कामी क्रिजमा रहे पनि अन्तिम ओभरमा चाहिएको २२ रन बनाउन नसक्दा आर्मी पराजित हुन पुग्यो । विवेक २५ र सोमपाल १६ रनमा नट आउट रहनुभयो । भीम सार्कीले ३२ र विनोद भण्डारीले २२ रन बनाउनुभयो । मधेसका हरिशङ्कर साहले ४ र प्रदीप पासवानले २ विकेट लिनुभयो ।
पहिले ब्याटिङ गरेको मधेसले विशाल पटेलको अविजित ४९ रनको सहयोगमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । आर्मीका साहब आलम र विवेक यादवले तीन तीन विकेट लिनुभयो ।
विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०, १५:५०