जाजरकाेट । जाजरकोटका सामुदायिक रेडियोहरूले भूकम्प प्रभावित नागरिकमा सही सूचना र जानकारी पुर्याउन प्रसारणमा साझेदारी गरेका छन् ।
रेडियो खलङ्गा, हाम्रो पाइला एफएम, रेडियो जाजरकोट र पृथ्वी एफमले आंशिक रूपमा साझेदारी गरेका हुन् ।
टेन्टमुनिबाट संयुक्त रूपमा प्रसारण गर्नेदेखि हरेक दिन बिहान भूकम्पपछिको नागरिकको आवश्यकता, अपनाउनुपर्ने सावधानीका बारेमा आधा घण्टाको कार्यक्रम संयुक्त उत्पादन थालिएको रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका केन्द्रीय सदस्य बालकुमार शर्माले बताउनुभयो ।
उहाँका अनुसार हरेक दिन बिहान सवा ९ बजेदेखि न्यूनतम आधा घण्टासम्म संयुक्त रूपमा उत्पादन गरिएको कार्यक्रम प्रसारण गर्न थालिएको छ ।
कार्यक्रममा भूकम्प प्रभावितलाई राहत, अस्थायी आवास निर्माण, टेन्ट र त्रिपालमुनि बस्दाका समस्या तथा अपनाउनुपर्ने सावधानी, स्थानीय सरकारबाट भूकम्प प्रभावितको अपेक्षा, अस्थायी आवास निर्माणमा तीनै तहका सरकारको भूमिकालगायतका बारेमा अन्तर्वार्ता, रिपोर्टलगायतका सामग्री प्रसारण गर्न थालिएको रेडियो खलङ्गाका स्टेशन म्यानेजर सरोज ओलीको भनाइ छ ।
सामुदायिक रेडियो प्रशारक सङ्घ/सामुदायिक सूचना नेटवर्क (सीआईएन) का प्रतिनिधिको उपस्थितिमा भएको छलफलपछि जाजरकोटका सामुदायिक रेडियोबीचमा आंशिक प्रसारण साझेदारीको सहमति बनेको हो ।
सहमति अनुसार आइतवार रेडियो खलङ्गाले कार्यक्रम तयार पार्छ भने सोमवार रेडियो जाजरकोट, मङ्गलवार रेडियो हाम्रो पाइला, बुधवार रेडियो पृथ्वी एफमले कार्यक्रम उत्पादन गर्दै आएको छ ।
सबै रेडियोको इमेलमा कार्यक्रम पठाएर उत्पादन टिमको फेसवुक ग्रुपमा कार्यक्रम पाएनपाएको बारेमा छलफल हुने गरेको छ ।
यसरी कार्यक्रम सञ्चालन गर्दा थोरै जनशक्तिले पनि राम्रो कार्यक्रम गर्न सकिने रेडियो जाजरकोटका प्रवन्धक नवराज शाहीले बताउनुभयो ।
रेडियो जाजरकोट र रेडियो खलङ्गा हाल एउटै टेन्टमुनिबाट प्रसारण भइरहेका छन् भने रेडियो हाम्रो पाइलाको प्रसारण पनि टेन्टमुनिबाट अस्थायी रूपमा चलिरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०, ०९:२५