काठमाडौँ । राष्ट्रिय सभाका १९ सांसदका लागि आगामी माघ ११ गते निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सत्तारुढ गठबन्धन दलले यो निर्वाचनमा पनि सिट बाँडफाँड गर्ने तयारी गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै प्रतिस्पर्धामा उत्रने रणनीति बनाएको छ ।
काँग्रेस–माओवादी गठबन्धनमा १९ सिटमध्ये काँग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ जना उम्मेदवार उठाउने बारेमा छलफल चले पनि निर्णय भइसकेको छैन ।
काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा मिलेर जाने बारेमा छलफल चलिरहेको बताउनुभयो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले अहिलेसम्म अन्य दलसँग चुनावी गठबन्धनको बारेमा कुनै छलफल नभएको बताउनुभयो ।
कुनै दलसँग सहकार्य नभए पनि आफूहरू एक्लै चुनावमा जाने उहाँको भनाइ छ ।
राष्ट्रिय सभाका २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । तीमध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुनुपर्ने भएकाले बाँकी १९ पदका लागि निर्वाचन हुने छ ।
पद रिक्त हुनु एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०, ०९:५८